Adarsha Secondary School ज्ञान • अनुशासन • सेवा

Adarsha Secondary School ज्ञान • अनुशासन • सेवा

डा.सीता सुवेदी पन्थी

डा.सीता सुवेदी पन्थी आदर्श माध्यमिक विद्यालय, लायकू, मध्यपुर ठिमी, भक्तपुरमा माध्यमिक तह (कक्षा (९–१२) मा अध्यापनरत नेपाली विषयको शिक्षक हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एम.ए., एम.एड. तथा नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँ नेपाली भाषा तथा साहित्य शिक्षण, सिर्जना र अनुसन्धानका क्षेत्रमा निरन्तर क्रियाशील शिक्षक, प्रशिक्षक, साहित्यकार तथा अनुसन्धाता पनि हुनुहुन्छ । उहाँले शिक्षणलाई केवल पाठ्यपुस्तकको ज्ञान हस्तान्तरण गर्ने प्रक्रिया मात्र नभई विद्यार्थीको सिर्जनशीलता, नैतिक चेतना, मानवीय संवेदना र जीवनदृष्टिको विकास गर्ने सशक्त माध्यमका रूपमा आत्मसात् गर्दै विद्यार्थीको अन्तर्निहित प्रतिभा पहिचान, सिर्जनात्मक अभिव्यक्ति र जीवनोपयोगी सिकाइका लागि सिकाइ संस्कृतिको विकास गर्नुपर्ने कुरालाई विशेष महŒव दिनुहुन्छ । उहाँले विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलाप (साहित्य विशेष) को संयोजक तथा गुनासो सुन्ने अधिकारीका रूपमा भूमिका निर्वाह गर्दै विभिन्न अवस्थाका विद्यार्थीलाई आवश्यकतानुसार परामर्श सेवा प्रदान गर्दै आउनुभएको छ । उहाँका लागि कक्षाकोठा ज्ञानको हस्तान्तरण गर्ने थलो मात्र नभई जिज्ञासा, कल्पना, सिर्जना र संस्कारको सुन्दर संगम पनि हो ।

नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने उहाँका हालसम्म पुतलीको साथी, शैक्षिक भ्रमण कति राम्रो जुनकिरी, मयुर साथी मेरो नेपाल (बालकविता सङ्ग्रह), फटफटे र कमिला (बालकथा सङ्ग्रह), स्याबास बाबु (बालकाव्य), ढुकुर कुर कुर (बाल चित्रकविता), तरङ्ग, दुई किनार, छन्दमालिका (कवितासङ्ग्रह), मातापिता (खण्डकाव्य), साइनो सुमन (साइनो कवितासङ्ग्रह), दश थुङ्गा फूल (संयुक्त समीक्षा सङ्ग्रह), तालिम स्रोत सामग्री माध्यमिक तह ९ र १० (नेपाली, सहलेखन) तथा अनुसन्धानमूलक समालोचना ग्रन्थ नेपाली बालकवितामा नीतिचेतना प्रकाशित छन् । यसका साथै उहाँले विभिन्न साहित्यिक कृतिहरू, स्मारिकाहरूको सम्पादन, विभिन्न कृतिहरूमा भूमिका लेखन तथा समालोचनासमेत गर्दै आउनुभएको छ । उहाँले विभिन्न समयमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकुद्वारा प्रकाशित परिवर्तनका संवाहक कार्यविधि, परिवर्तनका संवाहक विषयगत सहजीकरण पुस्तिका १ र २, किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य (तालिम सहजकर्ताका लागि निर्देशिका तथा हातेपुस्तक), परिवर्तनका संवाहक किशोरहरूका लागि सहजीकरण पुस्तिका (१,२,३,४, ५,६, ७) तथा परिवर्तनका संवाहक किशोरीहरूका लागि सहजीकरण पुस्तिका (१,२,३,४,५,६,७) लगायत डेढ दर्जन भन्दा बढी प्रशिक्षक निर्देशिका, स्रोत सामग्री तथा हातेपुस्तिकाहरूको सम्पादन गर्नुभएको छ ।

उहाँ पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरमा नेपाली भाषा विषय समितिको सदस्यको रूपमा रही विद्यालय तहका पाठ्यपुस्तक, शिक्षक निर्देशिका तथा मूल्याङ्कनका मापदण्ड निर्माणमा मार्गनिर्देश गर्ने, पाठ्यक्रम अभिमुखीकरण गर्ने कार्य गर्दै आउनुभएको छ । यसका साथै उहाँ शिक्षा विभाग, शिक्षक तालिम शाखाअन्तर्गत एक महिने सेवाकालीन तालिम तथा शिक्षकको पेसागत सक्षमता विकासका लागि तालिम पाठ्यक्रम निर्माण, प्रशिक्षक निर्देशिका तथा नमुना स्रोत सामग्री निर्माण जस्ता कार्यमा निरन्तर संलग्न रहनुका साथै प्रशिक्षक प्रशिक्षण तालिममा सहजकर्ताको भूमिका निर्वाह गर्दै आउनुभएको छ । साथै श्रव्यदृश्य शाखाबाट प्रसारित रेडियो नाटक लेखन, सुनाइ पाठ प्रस्तुति÷रेकर्डिङ, शिक्षा तालिम केन्द्र, धुलिखेलमा रोष्टर प्रशिक्षकका रूपमा संलग्न रही शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएको छ । साहित्यलाई जीवनसँग, शिक्षालाई संस्कार र सिर्जनासँग जोड्ने तथा बालबालिकालाई पुस्तक, भाषा र साहित्यसँग आत्मीय बनाउन सिकाइ संस्कृतिको विकासलाई जीवन्त बनाउने उहाँको दृष्टिकोणले उहाँलाई कक्षाकोठामा मात्र सीमित नराखी विविध क्षेत्रमा योगदान गर्न सक्ने शिक्षकका रूपमा स्थापित गरेको छ । साइनो वाङ्मय चौतारी, बालसिर्जना मञ्च नेपाल, नेपाल लाइब्रेरी फाउन्डेसन, नेपाल बालसाहित्य समाज, राजेन्द्र सुवेदी स्मृति समाजलगायत विभिन्न साहित्यिक तथा शैक्षिक संस्थामा आबद्ध रही उहाँ भाषा, साहित्य, सिर्जना, पठन संस्कृति र शिक्षाको विकासमा योगदान पु‍¥याउँदै आउनुभएको छ । उहाँको बहुआयामिक व्यक्तित्वले शिक्षा, साहित्य र संस्कारका माध्यमबाट विद्यार्थीभित्रका सम्भावित क्षमताको खोजी र प्रस्फुटन गरी विद्यार्थीको उज्यालो भविष्यका लागि मार्गदर्शन गरेको छ । उहाँको सामीप्य र प्रेरणाले बालबालिकालाई आदर्श, सभ्य, शिष्ट, नैतिकवान्, जिम्मेवार र कर्तव्यनिष्ठ नागरिकका रूपमा स्थापित गर्न सहयोग पु¥याउनुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि महŒवपूर्ण योगदान पुग्ने विश्वासलाई जीवन्त बनाएको छ ।