Adarsha Secondary School ज्ञान • अनुशासन • सेवा

Adarsha Secondary School ज्ञान • अनुशासन • सेवा

कमलप्रसाद भट्टराई आदर्श माध्यमिक विद्यालय, लायकू, ठिमीमा माध्यमिक तहका शिक्षकका रूपमा निरन्तर शिक्षण सेवामा समर्पित व्यक्तित्व हुनुहुन्छ। उहाँले एम.एड. तह प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभएको छ।

उहाँले २०४३ सालमा एस.एल.सी. उत्तीर्ण गरेपछि २०४४ साल कार्तिकदेखि सामुदायिक विद्यालयमा अध्यापन सेवा प्रारम्भ गर्नुभएको थियो। करिब दुई वर्ष अध्यापन गरेपछि २०४६ सालमा राजीनामा दिई उच्च शिक्षाका लागि काठमाडौं आउनुभयो। त्यस क्रममा आइ.एड., बी.कम., बी.एड. र एम.एड. जस्ता उच्च शैक्षिक योग्यता हासिल गर्नुभयो। अध्ययनसँगै जीवनयापनका क्रममा ट्युसन अध्यापन, पाउरोटी कारखानामा काम तथा निजी विद्यालयमा अध्यापनजस्ता विभिन्न कामको अनुभव पनि उहाँले बटुल्नुभयो।

२०५८ साल असार ३ गतेदेखि आदर्श माध्यमिक विद्यालयमा करार अर्थात् ज्यालादारी, निजी स्रोत तथा सरकारी कोटामा रही अध्यापन गर्दै आउनुभएका भट्टराईले २०७१ सालमा शिक्षक सेवा आयोगद्वारा सञ्चालित पहिलो खुला प्रतिस्पर्धामा भक्तपुर जिल्लामा प्रथम स्थान हासिल गरी स्थायी शिक्षकका रूपमा नियुक्ति प्राप्त गर्नुभयो। त्यसयता उहाँ निरन्तर रूपमा शिक्षण सेवामा कार्यरत हुनुहुन्छ।

हाल उहाँ विद्यालयको विहानी समूहमा कक्षा ११ र १२ मा व्यावसायिक अध्ययन तथा दिउँसो कक्षा ९ र १० मा कार्यालय सञ्चालन र लेखा विषय अध्यापन गर्नुहुन्छ। साथै, २०७८ सालदेखि विद्यालयको सूचना अधिकारीको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको छ।

शिक्षण पेशालाई केवल रोजगारीका रूपमा नभई ज्ञान, सीप र संस्कार हस्तान्तरण गर्ने माध्यमका रूपमा ग्रहण गर्ने भट्टराई अध्ययनशील, कर्मशील र सेवाभावले प्रेरित शिक्षक हुनुहुन्छ। उहाँ वैदिक सनातनी हिन्दू परम्पराप्रति आस्थावान् हुनुका साथै आध्यात्मिक गतिविधिमा समेत विशेष रुचि राख्नुहुन्छ। शिक्षण सेवा, आत्मअनुशासन र आध्यात्मिक चिन्तनलाई जीवनका महत्वपूर्ण पक्षका रूपमा आत्मसात् गर्दै उहाँ आफ्नो कर्मक्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्छ।